बाढीका कारण कपिलवस्तु सिमा क्षेत्रमा चार सीमा स्तम्भमा क्षती



काठमाडौं– बाढीका कारण कपिलवस्तु सिमा क्षेत्रमा चार सीमा स्तम्भमा क्षती भएको छ । यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको राजधानी दैनिकले समाचार छापेको छ ।

कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माण र मर्मत भएको पनि विभागले जनाएको छ ।

सीमा स्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन् । सन् १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल र भारतको नक्साअनुसार ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ भएको पत्ता लगाएको थियो । जसमा २ हजार १ सय ५ नदी क्षेत्रमा र ३१ वटा नदी किनारमा छन् ।

यस्तै, भूमि क्षेत्रमा ६ हजार ४ सय १८ वटा सीमा स्तम्भ छन् । सन् २००७ मा नेपाल–भारतबीच सीमा विवाद समस्या देखिएपछि सन् २०१४ सम्म नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएको थियो । सम्बन्धमा सुधार आएसँगै सन् २०१४ मा तेस्रो संयुक्त आयोग गठन गरेर संयुक्त सीमा सर्वेक्षण कार्यलाई निरन्तरता दिइएको थियो । लामो समयदेखि संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएपछि सीमा क्षेत्रका धेरै स्तम्भमा क्षति पुगेको पाइएको थियो । नापी विभाग नक्सा शाखा अधिकृत दयानन्द जोशीले सीमा स्तम्भ निर्माण कार्यक्रम अन्य क्षेत्रको निर्माणजस्तो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्