काठमाडौं विश्वविद्यालयका उपकुलपती र रजिस्ट्रार सहितका पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी



काठमाडौं– काठमाडौं विश्वविद्यालयका पदाधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवोध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्मा विरुद्ध उजुरी परेको हो ।
विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ । नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र महेन्द्र सापकोटाले पदाधिकारीको मिलेमतोमा नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका सहायक प्राध्यापकको नियुक्ति गरिएको दाबी गरेका छन् ।

खुला प्रतियोगिता भनिए पनि दुई वर्षअघि प्रतिस्पर्धा्विना करारमा नियुक्त भई विश्वविद्यालयमा कार्यरत व्यक्तिहरूलाई नै अपारदर्शी तरिकाबाट नियुक्त गरिएको उजुरीकर्ताको भनाइ छ । अख्तियारमा उजुरी दिनु अगाडि आफूले मिति ०७६ असार २७मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वविद्यालयको नियम के छ, लिखित परीक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्प्रर्धी उम्मेदवारले जम्मा कति अङ्क प्राप्त गरे, वैकल्पिक उम्मेदवारको कति अङ्क आयो, पत्रकारितामा वैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असार ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार शर्मालाई निवेदन बुझाएको, तर उनले बेवास्ता गरेको पन्त बताउँछन् । “यसले गर्दा पनि उल्लेखित विषयका नियुक्तिहरू नियमसङ्गत नभएको आशङ्का गरेको छु,” उनी भन्छन् । हालसम्म सूचना उपलब्ध नभएपछि उनले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।

विश्वविद्यालयको नियम अनुसार छन् । छनौट समितिमा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि पनि रहनुपर्ने एवं नतिजामा वैकल्पिक उम्मेदवारको सूची पनि प्रकाशित गर्नुपर्नेमा त्यसो नगरिएको पन्तको दाबी छ ।

पन्तका अनुसार करिब दुई वर्ष अगाडि पनि यस्तै घटना भएको थियो । पत्रकारिता विभागमा सहायक प्राध्यापकका लागि विज्ञापन खोलिएको भए पनि उच्च अधिकारीहरूबीच पहिला नै ‘सेटिङ्‘ मिलाई आफ्ना मान्छे नियुक्त गरिएको पन्तको दाबी छ । विश्वविद्यालयको प्राध्यापक सङ्घका एक पदाधिकारी पनि नियुक्तिमा अनियमितता भएकै ठोकुवा गर्छन् । “तर हाम्रो विश्वविद्यालयमा यो पहिलो घटना होइन,” उनी भन्छन् , “पछिल्लो केही वर्षका प्रायः सबै नियुक्तिहरू विवादमा पर्दै आएका छन् ।”

प्रतिक्रिया दिनुहोस्