भुकम्पले बन्द भएको तातोपानी नाका खुल्यो तर चलेन



काठमाडौं– २०७२ सालको विनासकारी भुकम्पले क्षेत्रीग्रस्त भएपछि चार वर्षदेखि बन्द भएको तालोपानी नाका लामो प्रयासपछि पुनः सञ्चालनमा आएको छ । नाका पूर्णरुपमा खुलीसकेको भएपनि भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ ।

मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको छ । आफ्नो तर्फको तयारी पूरा नभएको भन्दै चिनियाँ पक्षले मानिस आउजाउ नदिएको अधिकारीहरूले बताएको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

सरकारी पक्षले भने चिनियाँ पक्षले थप व्यवस्थित गर्न लागेका कारण मानिस आवतजावतमा केही समय लाग्ने जनाएको छ ।

तिब्बतका लागि महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चीनले नाका थप व्यवस्थित गरिरहेकाले मानिस आवातजावत गर्न नदिएको बताए । ‘पुल निर्माण भइसकेको छ । गाडीमात्रै चलाउने भन्ने विषयमा पहिल्यै सहमति भएको हो । त्यही मोडलमा नाका खुलेको छ,’ उनले भने, ‘अब मानिस आउजाउ गर्न पहल गरिरहेका छौं ।’

भूकम्पले मितेरी पुलसमेत तहसनहस भएपछि नाका बन्द भएको थियो । २०७३ साउनमा भोटेकोसीले सडकलगायत संरचनामा थप क्षति पु(याएको थियो । सबै दलका स्थानीय नेता, व्यवसायी, सरकारी निकायको लामो प्रयत्नपछि चिनियाँ पक्षले नाका पुनः सञ्चालनमा ल्याएको हो ।

चीनले अझै उक्त नाकालाई पूर्ण रूपमा खोल्न नमिल्ने बताउँदै आएको छ । व्यक्ति आउजाउ गर्न नपाउँदा २५ किलोमिटरसम्म आउजाउ गर्न पाउने सहमति उल्लंघन भएको गुनासो स्थानीय बासिन्दाको छ ।

प्रतिक्रिया दिनुहोस्