घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत सहित छ मुद्दा



जनकपुर– विद्युतीय सामग्री खरिद गर्दा विक्रेतासँग साँठगाँठ गरी घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सहित छ जना विरुद मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अहिल्लो आर्थिक वर्षमा विद्युतीय सामग्री खरीद गर्दा अनियमितता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा बदमासी गरेको पाइएको आयोगले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीलगायतले सत्या इन्टरप्राइजेजसँग मिलेमतो गरी विद्युतीय सामग्रीको खरीद गरेको पाइएको छ । आयोगले उपसचिव सुवेदी, अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लालकर्ण, लेखापाल दिनेश चौधरी र नायबसुब्बा अब्दुल जव्वारले रु ११ लाख ३५ हजार ४११ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले सत्या इन्टरप्राइजेजका सञ्चालक मनिषकुमार मिश्रविरुद्ध समेत विशेष अदालतमा समान बिगोसहित मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

यस्तै आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इञ्जिनीयर बसी अख्तर मोहम्मदविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनले सेवाग्राहीसँग रु चार लाख घुस मागेको अभियोग लागेको छ । 
प्रतिक्रिया दिनुहोस्