स्वास्थ्य सेवा विभागले रेबिजविरुद्धको खोप उपलब्ध नगराउँदा सर्वसाधारण मर्कामा



नेपालगञ्ज– स्वास्थ्य सेवा विभागले रेविज विरुद्धको सुई पठाउन ढिलाइ गरेकाले नेपालगञ्ज र आसपास क्षेत्रका सर्वसाधारण समस्यामा परेका छन् । भेरी अस्पताल नेपालगञ्जमा रेबिजविरुद्ध को खोप नहुँदा सर्वसाधारण मर्कामा परेका हुन् । भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउने भएपनि खोप अभाव भएको र सर्वसाधारणलाई आवश्यकता अनुसार खोप उपलब्ध अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभयो ।
साउनको शुरुआतदेखिनै अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको भएपनि हालसम्म उपलब्ध हुन नसकेको उहाँको भनाई थियो । अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता भएको छ । निजी क्लिनिकमा एउटा खोपको कम्तीमा रु ५०० पर्दछ । कुकुरले टोकेका बिरामीले चार वटा सुई लगाउनुपर्ने हुन्छ । सुई बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि सुई ल्याउन ढिलाइ भएको उल्लेख गर्दै अस्पतालका प्रमुख डा अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्