गुल्मीको पहिरोमा परेका घाइते लिएर काठमाडौं आए मन्त्री ज्ञवाली



काठमाडौं– काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परेर गम्भीर घाइते भएका २ जनालाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हेलिकप्टरबाट काठमाडौं ल्याएका छन् ।

सडक अबरुद्ध हुँदा उपचारका लागि लैजान समस्या भएपछि प्राथमिक उपचार गरी राखिएका घाइतेलाई २४ घन्टाको प्रतिक्षा र प्रयाश पश्चात् काठमाडौँ ल्याउन सफल भएको मन्त्री ज्ञवालीले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । मन्त्री ज्ञवालीले भनेका छन् ‘सत्यवती ३ ठूलोलुम्पेकमा राहत सामग्री पुर्याउन र घाइते वालिकाहरू करिष्मा र धनी त्रामुलाई उपचारका लागि ल्याउन सकियो ।’ मन्त्री ज्ञवालीले उक्त कार्यमा सहयोग गर्ने गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे एवं नेपाली सेनाका कर्णेलद्वय प्रताप बोहरा र ऋषभ अधिकारीसहित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् !’
गुल्मी क्षेत्र नम्बर १ का सांसदसमेत रहेका मन्त्री ज्ञवालीले हिजो लिम्घा र आज ठूलो लुम्पेकका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरको सहायतामा २० क्वीन्टल चामल, २ क्वीन्टल दाल, १ क्वीन्टल चिउरा लगायत खाद्यान्न वितरण गरिएको छ । घाइते मध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । सोमवार राती गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्