अब थाइराइड परीक्षण बागलुङमै



बागलुङ– धौलागिरि अञ्चल अस्पतालले थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । धौलागीरी अस्पतालले यो सेवा सुरु गरेसँगै थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बाध्यता हटेको छ ।
सेवाको शुभारम्भ गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा गरेका थिए । उक्त अवसरमा बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिएकी थिइन् । सो अवसरमा अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । 

यो सेवा सुरु भएसँगै रगतको नमूना लिएको भोलिपल्ट परीक्षणको ‘रिर्पोट’ आउनेछ । परीक्षणपछि थाइराइडको अवस्था हेरेर बिरामीको औषधि उपचार गरिने अस्पतालले जनाएको छ । यस अघि थाइराइड जाँचका लागि रगतको नमुना लिएर पोखरा धाउनुपर्ने, तीन-चार दिन कुर्नुपर्ने अवस्था थियो । मङ्गलबार नै अस्पतालमा स्थापना भएको स्तनपान कक्षको पनि शुभारम्भ गरिएको थियो ।    अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ दश जना महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन् । 
प्रतिक्रिया दिनुहोस्