तत्काल पाँच सय कर्मचारी नदिए कामगर्न सकिँदैन् : मुख्यमन्त्री शाही



काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्रसरकारले तत्काल पाँच सय कर्मचारी नदिए कामगर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले कामगर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । कर्णाली प्रदेशलाई तीनहजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमा त्यसको पूर्तिका लागि ढिलासुस्ती भइरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखिपठाए पनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्ती गरिदिंदा समस्यामा परेको बताए ।
कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको बताए । कर्णालीमा जर्बजस्ती पठाइएको महशुश गर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए । साक्षात्कारमा बोल्दै उनले भने,‘कर्णाली जाऔं जाऔं लाग्ने गरी भत्ता बढाइदिनुपर्छ ।’
करारमा कर्मचारी भर्ना गर्ने अवस्था नभएकोले केन्द्रले तत्काल कर्मचारी पठाउन आवश्यक रहेको उनको भनाई थियो । कर्मचारी अभावले कामगर्ने उत्साह सृजना हुन नसकेको शाहीले बताए । प्राविधिक जनशक्ति करारमा भर्ना गर्ने सूचना प्रकाशित गरेपनि कानुनी व्यवधार आएपछि गर्न नसकिएको जानकारी दिए । कर्मचारी अभावकाकारण कुल बजेटको आधा पनि खर्च हुन नसक्ने अवस्था आएको बताए । उनले भने, ‘कर्मचारी अभावले विकास निर्माणका काम अगाडि बढाउन नसक्दा जनताको अपेक्षा पूरा गर्न सकिएन ।’कर्मचारी भर्नाको आधार तयार हुनलागेकाले केही आशा जागेको बताए ।
सरकार गठन भएको डेढ वर्ष पुग्दा प्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए । तीनतहको प्रशासनिक संरचनाले पूर्णता नपाउँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्