अमेरिकामा पनि निर्मला पन्तको जस्तो घटना हुन्छ : गृहमन्त्री बादल



काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकामा पनि कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको जस्तो घटना हुने बताए ।
मन्त्री थापाले निर्मला पन्त बलात्कार र हत्या जस्ता घटना पूर्ण रुपमा रोक्न नसकिने बताएउँदै अमेरिकाको उदाहरण दिएका हुन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले यस्ता घटना आज, भोली र पर्सी पनि भइरहने बताए । गृह मन्त्रालयले उक्त प्रकरणमा कुनै ठोस काम गर्न नसकेको भनी आलोचना बढीरहेका बेला मन्त्री थापाको यस्तो भनाई आएको हो ।

उनले यस्ता घटना अन्य देशमा पनि हुने बताउँदै भने,‘अमेरिकामा पनि हुन्छ ।’

पन्त प्रकरणको राजनीतिकरण भएको बताउँदै उनले यसमा गृह मन्त्रालय वा अधिकारीको संलग्नता छ भन्नु गलत भएको दाबी गरे । ‘के त्यस्तै भएको छ त ? गृहले छानबिन नगरेकै हो त ?’, उनको प्रतिप्रश्न थियो ।

उनले यस प्रकारको घटना नयाँ नभएको बताउँदै पहिला पनि हुने गरेको दलिल पेस गरे । तर, प्रहरीले छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सफल भएको विवरण देखाउँदै भने,‘यस्ता घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत र कारबाहीमा ९७ प्रतिशत सफल छ ।’

प्रतिक्रिया दिनुहोस्