सागको समापनमा के भने त प्रधानमन्त्री ओलीले ? (हेर्नुहोस् भिडियो)



२५ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समापन समारोहमा भिडियो सन्देश मार्फत सम्बोधन गर्नुभएको छ । उपचारपछि बेडरेष्टका क्रममा रहनुभएका ओलीले भिडियो सन्देश पठाएर सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो– ‘दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु । भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ ।

यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरुको संलग्नता रहेको छ । पदकहरु पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु ।

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो ।

यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरु, खेल क्षेत्र, खेलाडीहरु र प्रशिक्षकहरु सबैलाई म धन्यवाद भन्न चाहन्छु ।

अत्यन्तै भव्य रुपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमणवर्ष २०२० लाई सफल बनाउन योगदान र्पुयाउने छ भन्ने मैले विश्वास लिएको छु। यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु ।

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्या्दित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरुले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरुलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरुलाई बधाई भन्न चाहन्छु ।’ भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्