राजपा र समाजवादी एक आपसमा ससंकित



१० मंसिर, काठमाडौं – गत साताको मन्त्रिपरिषद् पुनर्गठनपश्चात समाजवादी र राजपा आपसमा संशकित भएका छन् । मधेसीको अधिकारका लागि सँगै आन्दोलन गरेका यी दुई दल प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका छन्।

गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा दुवैले तालमेल गरेर उम्मेदवारी दिएका थिए। पछिल्लो समय पार्टी एकीकरणकै प्रयास भइरहेको बताउँदै आएका यी दुई दल मन्त्रिपरिषद् पुनर्गठनपश्चात एक अर्का प्रति सशंकित अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय प्रधानमन्त्री केपी ओलीले ‘अपमानजनक’ ढंगले हेरफेर गरेपछि सरकारबारे भएको छलफलमा दुवै पार्टीले आपसमै संशकित अभिव्यक्ति दिएका हुन्।

समाजवादीले आफू बाहिरिए राजपा सरकारमा सामेल हुने र त्यसपछि प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ समीकरणसहित सरकार बनाउने आशंका व्यक्त गरेको छ। राजपा नेताहरूले सरकार नछाड्नका लागि उपेन्द्र यादवले यस्तो हल्ला फैलाएको जवाफ दिएका छन्।

सरकार छाड्ने कि नछाड्ने बहस चर्किएपछि गत शनिबार बसेको पदाधिकारी बैठकमै उपप्रधानमन्त्री यादवले आफूलाई सरकार छाड्न कुनै समस्या नभएको तर त्यसपछि राजपा सरकारमा सामेल हुने र प्रदेश २ को सत्ता समीकरणसमेत फेरिने ब्रिफिङ गरेका थिए।

यादवको ब्रिफिङपछि बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने निर्णय गर्‍यो। राजपाले सरकारमा सामेल हुन खुट्टा उचालेको आरोप समाजवादीका नेताले सार्वजनिक रुपमै लगाएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्