प्रतिनिधि सभा, प्रदेश सभाका ४ सिटमा ६५ जनाको उम्मेदवारी



२२ कात्तिक, काठमाडौं– १४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्यतर्फ एक र प्रदेश सभा सदस्यतर्फ तीन पदको उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभातर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता तोकेकोमा कुल चार पदका लागि ६५ जनाको उम्मेदवारी परेको बताएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभातर्फको कुल चार पदमा हुने उपनिर्वाचनका लागि ७० जनाले उम्मेदवारीका लागि निवेदन दिएको तर कास्कीमा दुई र भक्तपुरमा तीन जनाले दिएको उम्मेदवारीको प्रक्रिया नमिलेका कारण पाँच जनाको निवेदन रद्द भएको जानकारी दिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभातर्फको कुल चार पदमा हुने उपनिर्वाचनका लागि ७० जनाले उम्मेदवारीका लागि निवेदन दिएको तर कास्कीमा दुई र भक्तपुरमा तीन जनाले दिएको उम्मेदवारीको प्रक्रिया नमिलेका कारण रद्द भएको छ, प्रतिनिधि सभा र प्रदेश सभाको चार पदमा ६५ जनाको उम्मेदवारी दर्ता भयो,’ प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने एक मात्रै निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, प्रदेश सभा सदस्यको निर्वाचन हुने दाङ ३ ‘ख’मा एक जनाका लागि १४ जनाको उम्मेदवारी परेको छ भने बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’मा प्रदेश सभाको एक सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । यस्तै, प्रदेश सभातर्फकै उपनिर्वाचन हुने भक्तपुर १ ‘क’मा एक पदका लागि १९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

चारै स्थानमा हुने उपनिर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारले बाजागाजा र जुलुससहित मनोनयन दर्ता गराएको राजधानी दैनिकले खबर छापेको छ ।

कास्की–२ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ नेकपाको तर्फबाट विद्या भट्टराई र प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दिएका छन् । गत फागुनमा हेलिकोप्टर दुर्घटनामा सो क्षेत्रबाट निर्वाचित सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो स्थान रिक्त छ । नेकपाले सो स्थानमा अधिकारीकी श्रीमतीलाई नै उम्मेदवार बनाएको हो । कांग्रेसले भने पुराना नेता पौडेललाई उम्मेदवार बनाएको छ ।

भक्तपुर– १ ‘क’मा सत्तारूढ नेकपाको तर्फबाट डीपी (देवीप्रसाद) ढकाल र प्रतिपक्षी कांग्रेसको तर्फबाट कृष्णलाल भँडेलले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवार बनेका छन् ।

त्यस्तै, बाग्लुङ– २ ‘ख’मा नेकपाको समर्थनमा राष्ट्रिय जनामोर्चा नेपालले शशिविक्रम शाहीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले जीतबहादुर शेरचनलाई उम्मेदवार बनाएको छ । यस्तै, दाङको क्षेत्र न ३ ‘ख’ १४ जनाको उम्मेदवारी परेको छ । जहाँ नेकपाको तर्फबाट विमला वली र कांग्रेसको तर्फबाट विमल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्