विवादबीच कांग्रेसले उम्मेदवार टुंग्यायो



२१ कात्तिक, काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्की २ सहित प्रदेशसभातर्फ तीन र नगरपालिकातर्फ एक गरी पाँच उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले लामो सकसका बीच उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन बुधबार उपनिर्वाचनका लागि कास्की, बाग्लुङ, दाङ र भक्तपुरमा उठाइने उम्मेदवारबारे टुंगो लगाएको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पदाधिकारी बैठकले कास्की २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । यसका साथै अन्य पाँच जना उम्मेदवारबारे निर्णय लिएको उनले बताएको राजधानी दैनिकले खबर छापेको छ ।

‘केन्द्रीय तहबाट पाँच जना उम्मेदवारबारे निर्णय भएको छ, कास्की २ मा प्रतिनिधिसभातर्फ हुने उपनिर्वाचनका लागि स्थानीय नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भयो, गाउँपालिका र वडा तहका उम्मेदवारबारे स्थानीय तहलाई नै निर्णय गर्ने अधिकार दिइएको छ,’ उपसभापति निधिले राजधानीसँग भने ।

कांग्रेसले प्रदेशसभातर्फ भने बाग्लुङ २ ९ख० मा जित शेरचन, दाङ ३ ९ख० मा केशव आचार्य र भक्तपुर १ ९क० मा कृष्ण भँडेल तथा धरान उपमहानगरपालिकामा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति निधिले जानकारी दिएका हुन् । उनले उम्मेदवारबारे शीर्ष नेताको सहमतिबाट पदाधिकारी बैठकले निर्णय लिएको बताए ।

तर, पदाधिकारी बैठकमा शीर्ष नेताहरूबीच उम्मेदवारबारे सहमति हुन नसकेपछि निर्णय गर्ने अधिकार सभापतिलाई नै छाडेर निस्केको महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए ।

‘लामो छलफल भयो, हामीले सभापतिजीलाई केही सुझाव दिएर तपाईं नै डिसिजन गर्नुस् भनेर हिँड्यौं,’ महामन्त्री कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्