भारतले सार्वजनिक गरेको नयाँ नक्सामा अनेरास्ववियुको आपत्ति : ‘गो ब्याक इण्डिया’को नारा लगाउँदै उर्लियो मानवसागर



२० कात्तिक काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको सिमा मिचिएको भन्दै विरोध जनाएको छ । आज काठमाडौंमा विषाल र्याली प्रदर्शन गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाइएको थियो । अनेरास्ववियुले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो । प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गर्नुभयो ।

उहाँले सरकारलाई कूटनीतिक पहलबाट भारतीय नक्सामा नेपालको भूमि मिचिएका बारेमा छिटो पहल गर्न आग्रह गर्नुभयो । सभामा अखिलका सहसंयोजक रञ्जित तामाङले भारत छिमेकी मुलुक भए पनि पटकपटक नेपाली सीमा अतिक्रमण गर्ने गरेकाले मान्य नहुने बताउनुभयो । उहाँले नेपालको भूमि मिचिएको भारतले बनाएको नक्सा सच्याउनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्