विद्या भट्टराई : स्ववियु सभापतिकी प्रत्यासी देखि अनेरास्ववियु केन्द्रीय सचिव सम्म



१७ कात्तिक काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपाकी नेतृ एवं स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनउने निर्णय गरेको छ ।

नेकपाको शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की २ मा विद्याको उम्मेदवारी टुंगो लगाएको हो । यद्यपी उम्मेदवारहरूको बारेमा औपचारिक निर्णय भने आइतबार मात्रै हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबारकै बैठकले विद्याको नाममा सहमति जुटाएको बताएका छन् । कास्की जिल्ला कमिटीले विद्याको नाममात्र उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । नेकपा गण्डकी प्रदेश कमिटीले भने विद्याको नाममा थप दुइजनाको नाम थपेर केन्द्रमा पठाएको थियो । गण्डकी प्रदेश कमिटीले सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो तर नेकपा सचिवालयमा प्यासी र गुरूङको नाममा कुनै छलफल नै भएन ।

यस्तो छ विद्याको राजनीतिक यात्रा

विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीका जीवन संगिनी हुन् । रविन्द्र तत्कालीन एमालेको भ्रातृसंगठन अनेरास्ववियुको महासचिव हुँदा विद्या सचिव रहेकी थिइन् । यद्यपी रवीन्द्रको राजनीतिक यात्रामा साथ दिन विद्या भने सक्रिय राजनीतिबाट छायाँ परेकी थिइन् । ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी रहेकी विद्या एकदम निडर महिला नेतृका रूपमा रहेकी थिइन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा विद्या पहिलो पटक अनेरास्ववियुको केन्द्रीय कमिटीमा पुगेकी थिइन । उनी रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख रहेकी थिइन । २०५५ सालमा बिहे भएपछि श्रीमानलाइ सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भएकी थिइन । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्या प्रध्यापन र परिवारको काममा रहेकी थिइन ।

रवीन्द्र र विद्या अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिब तीन दशकअघि भेटिएका थिए । संगठनमा रवीन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । जीवन संगिनीको रूपमा रवीन्द्रलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकी विद्यालाई उनको निधन पछि रिक्त रहेको क्षेत्रमा नेकपाले प्रतिस्पर्धामा उतारेको छ ।

प्रतिक्रिया दिनुहोस्