प्रधानमन्त्रीले उदघाटन गरेको विद्युतीय बस अलपत्र



९ कात्तिक, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस नै बेवारिसे बनेका छन् । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उद्घाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएर बसेका छन् ।

६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् । सरकारले समेत बस सञ्चालनमा बेवास्ता गर्दै आएको छ ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो । लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो ।

बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ । तर, प्रधानमन्त्रीले उदघाटन गरेका बस अहिले कम्पनीमा अलपत्र परेको राजधानी दैनिकले खबर छापेको छ ।

मापदण्ड र सम्झौताविपरीत पाइएपछि बिजुली बस नक्सालस्थित बीवाईडी कम्पनीको प्रांगणमा थन्किएका हुन् । ती बस काठमाडौंका सडकमा गुड्नेबारे अन्योल छ । प्रधानमन्त्रीले बसको उद्घाटनका क्रममा साझा यातायातको कार्यालयदेखि सिंहदरबारसम्म चढेर यात्रासमेत गरेका थिए ।

सरकारले ३ सय बस ल्याउन लागेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले घोषणासमेत गरेका थिए । मन्त्री बस्नेतले काठमाडौं उपत्यका र मुलुकका अन्य भागमा पनि चाँडै बिजुली बस कुद्ने दाबी गरे पनि हाल बेवारिसे अवस्थामा पुगेको हो भने मन्त्रीसमेत बेखबर देखिन्छन् । बसको गुणस्तर र सम्झौताअनुसार नभएको कुरा उठेपछि चल्न छाडेको हो ।

प्रधानमन्त्रीले उद्घाटन गरेका बस सञ्चालनमा नरहे पनि सरकारकै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेको एक निजी कम्पनीबाट सञ्चालित बिजुली बस भने सञ्चालन भइरहेका छन् । सुन्दर यातायात प्रालिले चीनबाट बिजुली बस ल्याएर हाल चक्रपथमा सञ्चालन गर्दै आएको छ । २३ भदौमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बिजुली बसको उद्घाटन गरेका थिए ।

कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने योजना रहेको जनाएको छ । सुन्दरका ती बस ४० सिट क्षमतासम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरू ल्याउनेछ । विद्युतीय बस वातावरणमैत्री हुन्छन् । बसले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनि पनि ननिकाल्ने भएकाले विश्वभरि नै पछिल्लोपटक विद्युतीय बसको प्रयोग बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्