पाँच दिनदेखि अस्पतालमा शव बन्धक भएपछि विक्षिप्त हुँदै ऋण खोज्दै परिवार



८ कात्तिक, काठमाडौं– उपचार खर्च तिर्न नसक्दा पाँच दिनदेखि जंगबहादुर राजवंशीको शव बिएण्डसी अस्पतालमा बन्धक बनेको छ । उपचारवापत लागेको खर्च जुटाउन नसक्दा ४९ वर्षिय रावंशीको शव अस्पताल राखेर परिवार र आफन्त पैसा जुटाउने प्रयत्नमा लागेका छन् ।

काँकडभिट्ट–धरान चल्ने मे १ ख २६५१ नम्बरको बसका चालकका रुपमा काम गर्दै आएका रावजंशीको गत असोज २६ गते धरानबाट काँकडभिट्टा आउने क्रममा सडकमा अटो रिक्सालाई बचाउन ब्रेक लगाउँदा स्टेरिङमा टाउको ठोकिएको थियो । डल्फिन यातायात कम्पनी झापाको बसका चालक उहेका राजवंशी घाइते भएपछि उपचारका लागि विएण्डसी अस्पताल लगिएको थियो । अस्पतालको आइसियुमा राखेर उपचार गर्ने क्रममा कात्तिक चार गने उनको मृत्यु भएको थियो । उनि काम गर्ने यातायात व्यवसायी कम्पनी सम्पर्कविहीन हुँदा राजवंशीको शव अस्पतालमा बन्धन बनेको रिवारले जनाएका छन् ।

उनको उपचारका क्रममा अस्पतालमा करीब ६ लाख रुपैयाँको बील उठेको छ । जसमध्ये पीडित परिवारले ऋण खोजेर ७३ हजार रुपैयाँ अस्पतालमा बुझाएको छ । चालक राजवंशीको कमाईबाट पालनपोषण हुँदै आएको पीडित परिवारको आर्थिक स्थिति अत्यन्त न्यून छ ।

राजवंशीलाई अस्पतालमा भर्ना गरेदेखि डल्फिन यातायातका सञ्चालकहरु सम्पर्क विहीन छन् । परिवारको न्यून आर्थिक स्थितिका कारण बुझाउन बाँकी ५ लाख २५ हजार रुपैयाँ बुझाएर शव अस्पतालबाट घर ल्याउन नसकेको मृतकका दाजु तोरण राजवंशीले बताए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडअनुसार डल्फिन यातायात कम्पनीमा जीवन रेग्मी, कमलकुमार साह, चन्द्र फुयाँल र शिरोमणि पौडेलको लगानी छ । पीडित परिवारले अस्पतालको उपचार खर्च र क्षतिपूर्ति माग गर्दै इलाका प्रहरीमा लिखित उजुरी दिएका छन् ।

‘बस सञ्चालकहरु कोही पनि छलफलमा नआउँदा शव अस्पतालबाट निकाल्न सकिएको छैन,’ बिर्तामोडका डीएसपी मोहनकुमार थापाले भने । सहकर्मीको मृत्यु हुँदासम्म बस सञ्चालकहरु छलफलमा नआएको भन्दै डल्फिन यातायातका अन्य १३ वटा बसका चालकहरु विरोधमा उत्रिएका छन् । उनीहरुले बस बिहीबार इलाका प्रहरीमा ल्याएर राखेका छन् ।

‘मृतक राजवंशीको परिवारले श्रम ऐन २०७४ अनुसार उपचार खर्च र राहत पाउनुपर्छ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव देवीप्रसाद भट्टराईले भने ।

श्रीमानको शवका लागि सबिना राजवंशीले हारगुहार गरिरहेकी छिन् । ४९ बर्षीय श्रीमान जंगबहादुर राजवंशीको शव ५ दिनदेखि अस्पतालमा ‘बन्धक’ छ ।

बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई ५ लाख २५ हजार रुपैयाँ बुझाउँन नसक्दा सबिनाले श्रीमानको शव घर ल्याउन पाएकी छैनन् । ‘राजवंशी संस्कार’ अनुसार निधन भएको एक दिन पनि शव राख्न मिल्दैन । आईसीयूमा ९ दिनसम्म उपचार गराउदा समेत श्रीमानलाई बचाउन नसकेका सबिना मृत्यु भएको ५ औं दिनसम्म श्रीमानको शव बुझ्न नपाउदा थप विक्षिप्त बनेकी छिन् ।

छोराहरु ९ बर्षका रबिन र ८ बर्षका लक्कीले बुबाको मृत्युको खबरले ५ दिनदेखि राम्ररी खाना खाएका छैनन् । घरमा सन्नटा छ । आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहेका छन् । तर, पैंसा नहुदा अस्पतालबाट शव छुटाउन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्