लक्ष्यभन्दा ५३ अर्ब ६९ करोड कम उठ्यो राजस्व



६ कात्तिक, काठमाडौं– सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो ।

यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २।५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा कुल वार्षिक लक्ष्यको १६।४३ प्रतिशत राजस्व उठेको छ । जसमा करबाट कुल १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख रुपैयाँ उठेको छ भने गैरकरबाट १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठेको छ ।

महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्ने हो भने पहिलो त्रैमासिकमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यसपालिको दसैं असोज महिनामा परेको र सो अवधिमा सबैभन्दा बढी वस्तुको खरिदबिक्री हुने भए पनि यस वर्ष कम राजस्व उठेकाले अर्थ मन्त्रालय गम्भीर भएको छ ।

त्यसमाथि यस वर्ष सरकारले पारिश्रमिक भुक्तानीमा स्थायी लेखा नम्बर ९प्यान० अनिवार्य गरिँदा पनि राजस्व भने कम मात्र उठेको छ । अहिलेसम्ममा ६ लाख व्यक्तिले स्थायी प्यान नम्बर लिई आयकर बुझाएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने, ‘भन्सार राजस्व कम उठेको छ र यस वर्ष आयात पनि कम भएकोले राजस्व कम उठेको प्रारम्भिक अनुमान छ ।’

सरकारले विलासी वस्तुको आयातमा कडाइ गरेका कारण यसपालि आयात कमी भएको र विलासी सामानमा सबैभन्दा बढी कर उठ्ने क्षेत्र नै कडाइ भएकाले पनि राजस्वमा प्रभाव परेको अधिकारीहरूले बताएका छन् । ढुवानीमा भ्याट लगाएको भन्दै केही दिन ढुवानी व्यवसायी ढुवानीमा रोक लगाए पनि पहिलो महिनामा अपेक्षित राजस्व उठ्न नसकेको बताइएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा कुल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

सरकारले निर्धारण गरेको राजस्व लक्ष्यमा भन्सार, मूल्य अभिवृद्धि कर, आयकरले लक्ष्य भेटाउन नसकेको बताइएको छ । भन्सारबाट ६५ प्रतिशत, मूल्य अभिवृद्धि करबाट ७६ प्रतिशत र आयकरबाट ९३ प्रतिशत मात्र लक्ष्यको अनुपातमा राजस्व उठेको छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्