नमोबुद्धको एम्बुलेन्स दुर्घटना : उपचार गर्न ल्याएकी श्रीमतीको शव लिएर फर्केका श्रीमानको दुर्घटनामा मृत्यु



५ कात्तिक, काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिका वडा नं. ५ मा भएको एम्बुलेन्स दुर्घटनामा घाइते भएका सिराहाका शोभित साहको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

साह मुटुको समस्या भएपछि ६० बर्षकी श्रीमती गंगादेबी साहलाई उपचारका लागि स १ च ११९१ नं को एम्बुलेन्समा उपचारका लागि मंगलबार राती शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगेका थिए । अस्पताल पुर्याउँदा बिरामीको मृत्यु भइसकेपछि सोही एम्बुलेन्समा शव लिएर सिराहा फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको थियो ।

बी.पी राजमार्ग हुँदै सिराहा फर्कने क्रममा मंगलबार बिहान अन्दाजी ५ः४५ बजे नमोबुद्ध नगरपालिका वडा नं–५ लासकोटमा एम्बुलेन्स अनियन्त्रीत भई सडकबाट ३० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका ७२ वर्षिय शोभित साहलाई धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको थियो ।

प्रहरीले एम्बुलेन्स चालक जिल्ला धनुषा मिथिला न.पा ७ बस्ने बर्ष २६ को देबराज श्रेष्ठ लाई उपचार पश्चात जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । दुर्घटनामा मृतकका छोरा वर्ष ४३ का देवकुमार साह, बुहारी वर्ष ३५ की निलु कुमारी साह र सोही स्थानमा बस्ने बर्ष ५६ को श्रीराम साहको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनिहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्