कानुनको नजरमा सबै बराबर रहेको पुष्टी : थापा



२० असोज, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले संविधान, कानुन र राज्यको नजरमा सबै बराबर रहेको पुष्टि भएको उल्लेख गरेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पछि सामाजिक सञ्जालमा नेता थापाले उक्त कुरा लेखेका हुन् ।

थापाले यसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सभामुखलाई समेत उन्मुक्ति नहुँदोरहेछ भन्ने पुष्टि गरेको बताउँदै सभामुख निवासबाट सिधै अभियुक्तका रुपमा सिंहदरबार प्रहरी वृत्तसम्मको दृष्य कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटीक दृष्टान्त रहेको बताएका छन् ।

‘एक महिलाद्वारा जिउदै मरेतुल्य बनाइएका रोल्पाली कृष्ण (?!) कृष्ण लीलाको आरोपले मात्र निम्त्याएको यो अकल्पनीय परिणाम १ सभामुख निवासबाट सिधै अभियुक्तका रुपमा सिंहदरबार प्रहरी वृत्तसम्म- कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटीक दृष्टान्त’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसबाट ‘सानालाई ऐन ठूलालाई चैन’ भयो भनेर कोकोहोलो मच्चाई नथाक्नेहरू नाजवाफ भएको थापाले उल्लेख गरेका छन् । ‘सम्माननीय’ (पूर्व सभामुख महरा) नै कानुनको कठघरामा परेपछि आसेपासेका सबै बचाउ प्रयास अर्थहीन रहेको जनाए। उनले भनेका छन्, ‘छोराहरूले पहिले ‘युद्ध’मा खिचेका तस्बिरहरू पोष्ट गरी सिर्जना गर्न खोजेको आतंकसमेत निर्वस्त्र । कानुनी उपचारमा सफाइ पाए निर्दोष, अन्यथा अभियुक्तबाट अपराधी हुने साँघुरो विकल्प ।’

थापाले रोशनीको २ वर्षदेखि झण्डै दशकसम्मको स्टाटस हेर्न र गम्न सुझाएका छन् । त्यसले विद्रुप ज्यादति र पार्टीको नाममा विभत्स आतंकको निरन्तरताको आख्यान बोलेको बताएका छन् । उनले भनेका छन्, ‘यो विषय गम्भीर बिषय हो । पार्टी होइन, आपराधिक प्रवृत्तिको कुरा हो । संस्थागत हैसियतको निकृष्टतम दुरुपयोगको चित्र हो । पार्टी एकाध दर्जावालाको बपौति होइन । सम्पूर्ण नागरिकको साझा आस्था हो ।’

प्रतिक्रिया दिनुहोस्