हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या



२० असोज, काठमाडौं- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ ।

प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो । उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

हिजै राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भइसकेको छ । किटानी जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्