महराबिरुध्द जबरजस्ती करणीकाे उजुरी दर्ता



१८ असोज, बाठमाडाैं- निवर्तमान सभामुख कृष्णबहादुर महराबिरुध्द जबरजस्ती करणि मुद्दा दर्ता भएकाे छ । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध आज जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको हाे ।

पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् । प्रहरी अधिकारीका अनुसार रोशनीले उजुरी दर्ता गराएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

तर, घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्

गृहमन्त्री थापाले आफ्नो भाइलाई प्रहरीले पक्राउ गर्दासमेत दबाब नदिएको भन्दै निर्धक्क भएर अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित बैठक उनले यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्