मानदेव प्रथमको शासनकालमा स्थापित काभ्रेपलाञ्चोक जिल्लाकै ऐतिहासिक पलाञ्चोक भगवती



पलाञ्चोक भगवती मन्दिर काभ्रे जिल्लालाई देश विदेशमा चिनाउने एउटा पुरानो मन्दिर हो । काभ्रेपलाञ्चोक जिल्ला , पाँचखाल नगरपालिका , वडा नम्बर ९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिर संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापित भएको हो । मध्यकालमा यो स्थान एउटा प्रमुख गढको रूपमा परिचित थियो । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने लिच्छविकालिन किंवदन्तीहरुमा उल्लेख भएको पाइन्छ । पलाञ्चोक भगवतीको मुर्ति बनाउने मुर्तिकारको दाइने हात काटिएको कारण नक्साल भगवती देब्रे हातले बनाएका थिए भने देब्रे हातपनी काटिएपछी शोभा भगवती खुट्टाले बनाएका भन्नेकुरा तत्कालीन अभिलेखहरुमा पाइन्छ।

एक मिटर अग्लो कालो चिल्लो ढुंगामा कुँदिएकी ,अठार हात भएकी , विभिन्न शस्त्रअस्त्रले सुसज्जित भएकी , चाँदीका गरगहना र मुण्डमाला पहिरिएर पश्चिमाभिमुख भएर रहेकी भगवतीले दायाँ-बायाँ चण्ड र मुण्ड अनि बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएकि छिन् भने एक हातको तीरले दैत्यलाई रोपेकी छिन् । ढोकाको दायाँ–बायाँ पथ्थर र धातुका सिंहहरू छन् । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले मन्दिरको छाना तामाको छ।धातुले मोडिएका ढोकाहरू भएको मन्दिरका टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् ।

मध्यकालको प्रारम्भमा हालको काभ्रेपलाञ्चोक जिल्लामा पलाञ्चोक बाहेक सात वटा स्थानहरू चण्डेश्वरी भएको ठाँउ बनेपुर (बनेपा), प्रयाग तीर्थ भएको ठाउँ पानवती (पनौती) , नाला भगवती भएको ठाउँ (नाला), नारायण तीर्थ भएको ठाउँ धौखेल (धुलिखेल), धनेश्वर भएको ठाउँ श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रम भएको ठाउँ (चौकोट) र नासिकास्थान पिठ भएको ठाउँ (साँगा) ले विशेष महत्व पाई विकसित हुने अवसर पाएका थिए ।

हाल पलाञ्चोकमा रहेको मन्दिर स्थापना हुनु अगाडी त्यसको सिला काभ्रे जिल्लाको बुचाकोटमा थियो । बुचाकोट बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन् । स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर लान खोज्दा उठाउनै नसकेपछी सोही स्थानमा स्थापना गरियो भन्ने एउटा भनाइ छ भने अर्को रोचक पक्ष एक स्थानीय पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे । उनले आजको व्यापार नाफा भएको खण्डमा भगवतीलाई घण्टी चढाउने बाचा गरेका थिए रे । सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए । आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए । सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ । अहिलेपनि मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ । सो डाँडालाई भगवतीको फूलबारी भनिन्छ । यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ ।

मन्दिरमा सबैभन्दा ठूलो मेला बडादसैँ र चण्डीपूर्णिमा ९बुद्ध जयन्ती०का दिन लाग्छ । बुद्ध जयन्ती मेला लाग्नुभन्दा एक दिनअगावै देउता बैराउने भनिन्छ । त्यस दिन त्यहाँका पहरीहरूबाट नै भगवतीको रथ चलाउने परम्परा छ । पलाञ्चोक भगवती हिन्दूहरूकी आराध्यदेवी भएपनि वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा हुँदैन । यस मन्दिरमा बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गरिने गरिन्छ । मन्दिर स्थापना कालदेखिनै काठमाडौं मखनटोलवासी वज्राचार्यहरूलाई यस मन्दिरको पुजारीको रूपमा राख्ने परम्परा आजसम्म पनि कायम छ। आजसम्मपनी सच्चा भक्तलाई कुनै अनिष्ट हुनलाग्यो भने साक्षात भगवती सपनामा आएर सचेत गराउँछीन् भने राष्ट्रमा कुनै बिपत्ति आउन लाग्दा भगवतीलाई पसिना आएर संङ्केत दिनेगरेका उदाहरणहरु प्रशस्तै छन् । ब्लगबाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस्