उपभोग्य सामानको महँगीले उपभोक्ता मारमा



१६ असोज, काठमाडौं– दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ।

बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन्। चाडपर्वका समयमा हरेक वर्ष उपभोक्ता ठगिनुपरेको उपभोक्ताले गुनासो गर्दै आइरहेको समाचारपत्र दैनिकमा खबर छ ।

सरकारले विभिन्न बजारमा अनुगमन गरी बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्दै आएको बताए पनि त्यसको प्रभावकारितामा पश्न उठ्न थालेको छ।

चाडपर्वको मौका छोपी उपभोक्तालाई ठग्न सक्रिय बिचौलियाहरूलाई कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाभित्रका बजारमा अनुगमन गरे पनि राहत पाएको महसुस नभएको उपभोक्ताको गुनासो छ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन महँगी नियन्त्रण गर्न सरकारको भूमिका शून्य देखिएको बताउँदै भन्नुहुन्छ– ‘सरकारले बजारमा उपस्थिति देखाउनै सकेन।

विभागसँग एकदमैसीमित जनशक्ति भएकाले एउटा क्षेत्रमा अनुगमन गरे अर्कोतिर छुट्ने भएकाले बिचौलियाले खेल्ने मौका पाएका छन्।’

विगत तीन वर्षको तुलनामा अहिले महँगी बढेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका सचिव पनि यस्तै विचार व्यक्त गर्दै भन्नुहुन्छ– ‘सरकारले बजारमा कम उपस्थिति देखाएकाले आवश्यकताअनुसार अनुगमन गर्न नसक्दा जनता मारमा परेका छन्।’

बजारमा महँगी बढ्नुको अर्को महत्वपूर्ण कारण उपभोक्तामा प्रश्न सोध्ने बानीको अभाव रहेको धारणा राख्दै उहाँ थप्नुहुन्छ– ‘आफूले किनेको सामानमा मूल्य बढाइएको थाहा पाउँदापाउँदै पनि किन बढाइयो भनेर प्रश्न नगर्दा व्यवसायी र बिचौलियाले ठगिरहने गरेका छन्।’

उपभोक्ता हितका निम्ति पर्याप्त कानुन र कार्यक्षेत्र पर्याप्त नहुँदा बजारमा व्यवसायी र बिचौलियाको मनोमानी चल्दै आएको उहाँको बुझाइ छ। महँगी नियन्त्रणका लागि उपभोक्तादेखि सरकारसम्म सजग हुनुपर्ने उहाँको सुझाव छ।
यद्यपि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगी नियन्त्रणका लागि सरकार सदैव गम्भीर रहेको दाबी गरेको छ।

विभागका महानिर्देशक योगेन्द्र गौचन बजार अनुगमन तीव्र पारिएकाले उपभोक्ता ठगीमा नपरेको दाबी गर्नुहुन्छ। तर, सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेपछि केही वस्तुमा कर बढाएकाले महँगी बढेको गौचनको तर्क छ।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँ भन्नुहुन्छ– ‘अन्तर्राष्ट्रिय मुद्राहरूको भाउ बढ्दा नेपाली बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ। हामी चाडपर्वको समयमा बढी मात्रामा हुने करछली तथा मूल्यवृद्धि नियन्त्रण गर्न तल्लीन छौं।

‘हामीले अनिवार्य मूल्यसूची राखेका छौं, त्यहाँ सुधार भएको छ, उपभोक्ता ठगिँदैनन्। खाद्य संस्थानले घाटै खाएर बजार मूल्यभन्दा कम मूल्यमा खसीबोका उपलब्ध गराएको छ।’

अध्यक्ष गौचन विभागले सीमित क्षेत्रमा मात्रै अनुगमन गर्ने भएकाले अनुगमनमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘हामीले मात्रै चासो दिएर हुँदैन, तलैदेखि महँगी नियन्त्रण गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्