कृष्णबहादुर महराले दोस्रोपटक बुझाए राजीनामा



१५ असोज, काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट दिएको पहिलो राजीनामा विवादित भएपछि दोस्रोपटक पुनस् राजीनामापत्र बुझाएका छन् ।

महराले बुझाएको राजीनामा राखिएको भाषा उपसभामुखले चित्त नबुझाएपछि दोस्रो राजीनामा माग गरिएको थियो । महराले मंगलबार ‘छानबिन नसकिँदासम्म’ भन्दै सर्तसहितको राजीनामा पत्र बुझाएका थिए ।

महराले राजीनामा उल्लेख गरेको छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द हटाएर दोस्रो राजीनामा आएको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ ।

महराका प्रेस सहयोगी डिल्ली मल्लले दोस्रो राजीनामा दिएको पुष्टी गरेका छन् । केही प्राविधिक शब्दहरुलाई लिएर विवाद सिर्जना हुन थालेपछि सच्चाएर अर्को राजीनामा पत्र बुझाइएको उनले बताए ।

सभामुख पदबाट महराले दिएको सर्तसहितको राजीनामा पत्र उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अस्वीकृत गरेपछि मंगलबार बिहान पुनः राजीनामा बुझाएका हुन् ।

अर्को राजीनामा पत्रका आधारमा उपसभामुख तुम्बाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएजस्तो सर्त उल्लेख छैन।

संसद सचिवायले सच्याउँदै टाँसेको सूचनामा आरोपबारेमा सत्यतथ्य छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी राजीनामा दिएको उल्लेख गरिएको छ ।

महरालाई गत सोमबार सचिवालयकै एक कर्मचारीले यौन दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आरोप सार्वजनिक भएसँगै सर्वत्र बिरोध सुरु भएपछि नेकपाको सचिवालयको निर्देशनपछि महराले मंगलबार राजीनामा दिएका थिए ।

तर, मङ्गलबार नै एउटा अनलाइनलाई भिडियो अन्तर्वार्ता दिएकी ती महिलाले महराले आफूलाई कुनै किसिमको दुर्व्यवहार नगरेको, उनी आफ्नो कोठामा नआएको दाबी गरेकी छन् । उनले अहिलेसम्म प्रहरीमा जाहेरी पनि दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्