भारतका जलमार्गमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने सहमती



१५ असोज, काठमाडौं– शनिबार नेपाल र भारतका वाणिज्य सहसचिवस्तरीय बैठकले भारतका थप ४ जलमार्गमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने सहमति गरेको छ । सहमति अनुसार भारतको हल्दिया, साहिबगन्ज, कालुघाट र वनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनलहरु प्रयोग गरी नेपाली सामान ढुवानी गर्न सकिनेछ ।

नेपाल-भारत पारवहन सन्धिमा समावेशपश्चात् नेपालले कोलकत्ता-हल्दियाबाट गंगा नदीमा निर्मित भारतको आन्तरिक जलमार्ग प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज समेत सञ्चालन गर्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । त्यसैगरी, कलकत्ता–कालुघाट–रक्सौल जलमार्गमा पनि नेपाली पानीजहाज चल्ने सहसचिव ढकालले बताए ।

वाणिज्य सन्धि पुनरावलोकन सम्झौता गर्दा नेपालका तर्फबाट हस्ताक्षर गरेका मन्त्रालयका सहसचिव ढकालकाअनुसार भारतसँगको छलफलका क्रममा जल तथा रेल यातायातका माध्यमबाट पारवहन सुविधा उपयोग गर्ने सम्बन्धी सन्धिलाई संशोधन गर्ने विषयलाई महत्वका साथ उठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको जलमार्गसम्बन्धी सम्झौताले भारतीय जलमार्गमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउन बाटो खोलेको थियो। यसअघि सन् २०१६ सालमा नवीकरण भएको वाणिज्य सन्धि पुनरावलोकन गर्न थप छलफलका लागि दुई देशबीच सचिवस्तरीय अर्को बैठक काठमाडौंमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्