के हो ट्रेजरी बिल ? जोखिम रहित छ त लगानी ?



८ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।
यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बोलकबोलमा सहभागी भएर ट्रेजरी बिल किन्न सक्छन् । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गरिन्छ ।
यो बिलको निश्चित फेस भ्याल्यु (परल मूल्य) हुन्छ । भुक्तानी गर्ने बेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने सर्तमा सरकारले ट्रेजरी बिल निष्कासन गर्छ । उदाहरणको लागि ६ महिने ट्रेजरी बिल निष्कासन गर्दा सरकारले १ लाख मागेको छ भने अहिले बिल खरिदकर्ताले ९६ हजार रुपैयाँ मात्र तिरे पुग्छ । बाँकी ४ हजार ट्रेजरी बिलको ब्याज रकम हो । चलनचल्तीको भाषामा यसलाई डिस्काउन्ट अर्थात् छुट भनिन्छ । सरकारले पछि भुक्तानी गर्दा भने १ लाख नै तिर्छ । यसमा डिस्काउन्टमा बार्गे्निङ गर्ने चलन पनि हुन्छ ।

जोखिमरहित लगानी

यो सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन । त्यसैले यसलाई जोखिमरहित लगानी पनि भनिन्छ । ब्याज (डिस्काउन्ट) पनि अगाडि नै थाहा हुने भएकाले लगानीकर्ताले ट्रेजरी बिलमा लगानी गर्दा फाइदा हुन्छ कि अन्यमा भनेर अगाडि नै विश्लेषण गर्न सक्छन् ।
ट्रेजरी बिलको बोल आहृवान गर्दा आहृवान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धा्रित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन ।
अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्