Latest

अब पृष्ठ संख्याको आधारमा तिर्नुहोस पुस्तकको मूल्य

प्रति पृष्ठ १ रुपियाँ १० पैसा देखि १ रुपियाँ ४५ पैसा सम्म

Public Date:-2017-03-20

 

काभ्रे— विद्यालयका पाठ्यपुस्तक अब पृष्ठ संख्या गनेर किन्न पाइने भएको छ । नेपाल सरकारले कितावको गुणस्तर र रङ्ग अनुसारको मूल्य निर्धारण गरेपछि पृष्ठ संख्याका आधारमा पाठ्य पुस्तक पाइने भएको हो ।


विगतका वर्षहरूमा विक्रेता र निजी विद्यालयहरूलाई समेत कमिसन जोडेर विद्यार्थीसँग असुल गर्ने गरेको भन्दै नेपाल सरकारले पृष्ठ संख्याको आधारमा मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । यो नीति लागु भएसँगै अब विद्यार्थीले पाठ्य पुस्तक विगतका वर्षहरूमा भन्दा तीस प्रतिशत सम्म कम पर्ने भएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काभ्रेले पत्रकार सम्मेलन गर्दै सरकारले २०७४ देखी लागु हुनेगरी पाठ्यपुस्तकको मूल्य निर्धारण गरेकोमा उक्त कदमको स्वागत गर्दै सरकारले तोकेको मूल्यमै पुस्तक उपलब्ध गराउने बताएको छ । महासंघले सरकारले मूल्य तोकेपछि पुस्तकमा छुट प्रतिशत घटेकाले पाठ्यपुस्तकमा छुट दिन भने नसकिने बताएको छ । शनिबार बनेपामा पत्रकार सम्मेलन गर्दै अब निजी विद्यालयहरूका सञ्चालकले एकमुष्ट पुस्तक खरिद गरी लिने गरेको कमिशनको फाइदा अब विद्यार्थीलेनै पाउने बताएको छ ।

यस अघिका वर्षहरूमा निजी विद्यालयहरूले पुस्तक बिक्रेताहरूबाट विद्यालयका विद्यार्थीलाई चाहिने पुस्तक एकमुष्ठ खरिद गरी विद्यालयमा लगेर वितरण गर्ने गरेकाले बिचमा कमिशनको चलखेल हुने गरेको थियो । सरकारको यो कदमले व्यवसायीहरूलाई सहज भएको व्यवसायीहरूको भनाई छ । यसअघि फरक बिक्रेताकाको स्टेशनरीमा फरक मूल्य हुने गरेकोमा अब हरेक स्टेशनरीमा एउटै मूल्यमा पुस्तक उपब्ध हुने पनि महासंघले जनाएको छ ।

सरकारले पुस्तकको मूल्यमा नयाँ नियम लागु गरेपछि निजी विद्यालयहरूको पाठ्यपुस्तकको मूल्य २५ देखि ३० प्रतिशत सम्म कम पर्न आउने भएको छ । सरकारले पाठ्यपुस्तकमा पृष्ठ संख्याका आधारमा मूल्य निर्धारण गरेको छ । जस अनुसार सादा पुस्तक प्रति पृष्ठ १ रुपैयाँ १० पैसा, दुई रङ्ग भएका पुस्तक प्रति पृष्ठ १ रुपैयाँ २५ पैसा र पूर्ण रङ्गिन पुस्तक प्रति पृष्ठ १ रुपैयाँ ४५ पैसाका दरले मूल्य निर्धारण भएको छ । यो मूल्यमा प्रकाशनले कभर पृष्ठ लगायत पृष्ठ संख्या अंकित नभएका पृष्ठको मूल्य जोड्न पाउने छैन ।

काभ्रे जिल्लामा सरकारी तर्फ आधारभूत विद्यालयहरू ४ सय ५८, माध्यमिक तर्फ १ सय २९ गरी जम्मा ५ सय ८७ र निजी तर्फ १ सय ३ विद्यालय रहेका छन् । शैक्षिक सत्र २०७४का लागि कुल १ लाख २ हजार ८ सय १३ विद्यार्थी रहेको काभ्रे जिल्लामा सरकारी तर्फ करिव १ करोड ५० लाख र निजी तर्फ करिव ३ करोड मूल्य बराबरको पुस्तक कारोवार हुने अनुमान गरेको महासंघले बताएको छ ।

 

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200