Latest

हातखुट्टा नचलेर के भो र , शाहस छ भने (एसईई)मा मुखले लेखेर परीक्षा दिदै

Public Date:-2017-03-17

रत्ननगर–१६ खैरेटीका २० वर्षीय भरत गुरूङको हातखुट्टा चल्दैनन । आमाको कोखबाटै उनी अपाङ्ग भएर जन्मिए । हातखुट्टा नचले पनि उनी प्रस्टै बोल्छन् । दिमाग निकै तेजिलो भएका उनी पढाइमा अब्बल विद्यार्थी हुन् । हातले लेख्न मिल्दैन तर पनि उनीमा अदम्य शाहस छ । आफूलाई कहिल्यै कमजोर नठान्ने उनी अरू भन्दा कम भाग्यमानी हुन् तर शिक्षामा उनी सपाङ्ग सरह नै तेज छन् । रत्ननगर–१६ मा रहेको भद्रकाली माविबाट उनले द्वितीय श्रेणीमा टेष्ट परीक्षा उत्तीर्ण गरेका हुन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।बिहीबारदेखि सुरू भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उनले मुखले लेखेर परीक्षा दिएका छन । मुखले लेखेर परीक्षा दिने जिल्लाको एक मात्र विद्यार्थी उनले रत्ननगर–१४ पिठुवामा रहेको जनजागृती माविको परीक्षा केन्द्रमा परीक्षा दिएका छन् । मामाको छोरा दाइ र गाउँकै एक जनाले उनलाई मोटरसाइकलमा राखेर परीक्षा केन्द्रसम्म पुर्‍याईदिए । उनी हिड्न सक्दैनन् ।

‘दुई जनाले मोटरसाइकलमा ल्याएर कक्षा कोठामा राखेर गए’ जनजागृती माविका प्रधानाध्यापक विनोदप्रसाद अधिकारीले भने, ‘हिड्न नसके पनि पढाइमा भने भरत तेज रहेछन् ।’ पहिलो दिनको अंग्रेजी विषयको परीक्षा उनले मुखले लेखेरै दिए । मुखले लेखे पनि उनको अक्षर अन्य विद्यार्थीको भन्दा राम्रो रहेको उनले बताए । अपाङ्ग भएर मुखले लेख्ने विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी पाएपछि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले उनलाई १५ मिनेट समय थप गरिदिन केन्द्रध्यक्षसमेत रहेका प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिएका थिए । सोही अनुसार नै उनले परीक्षा दिए ।

‘लेख्न केही असजिलो भए पनि प्रश्न हल गर्न गाह्रो भएन’ परीक्षा दिएर निस्किएपछि गुरूङले भने, ‘ममा पनि आत्मबल छ’ । एक कक्षादेखि मुखले लेख्दै आएका कारण बानी परिसकेको उनले बताए । उनले मुखले लेख्छन् । जिब्रोले कपी र किताबको पाना पल्टाउँछन् । उच्च शिक्षा अध्ययन गरेर सक्षम हुने उनको योजना छ । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण हुनेमा उनी ढुक्क छन् । ‘राम्रो नतिजा ल्याएर उच्च शिक्षा पढ्ने योजना छ’ गुरूङले भने, ‘अहिलेसम्म अनुत्तीर्ण भएको छैन यो परीक्षामा पनि सफल हुन्छु जस्तो लाग्छ ।’ गुरूङ भद्रकाली माविमा कक्षा २ बाट पढ्न सुरू गरेका हुन् । अहिले सम्म उनी अनुत्तीर्ण नभएको सो विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर थापाले बताए । ‘भरत अरु विद्यार्थी सरह क्षमतावान छन्’ उनले भने, ‘मुखले लेखेरै उनी सफल हुन्छन् ।’

परीक्षामा सहयोगी दिन्छौ भन्दा पनि उनले अस्वीकार गरे । ‘परीक्षा केन्द्रसम्म पु¥याइदिनू होस्, म आफै लेख्छु, सहयोगी चाहिदैन भन्यो’ प्रधानाध्यापक थापाले भने, ‘त्यो उसको आत्मबल हो ।’

सामान्य आर्थिक अवस्थाको परिवारको सदस्यको रुपमा जन्म लिएका गुरूङको घरायसी समस्या बेग्लै छ । १५ वर्षअघि बुबाले दोस्रो विवाहा गरेर भरतकी आमा चन्द्रमायालाई छाडे । बुबाले वास्ता गर्न छाडेपछि चन्द्रमाया घरमा बस्न सकिनन् । दुई छोरा बोकेर उनी माइतीमा बस्दै आएकी छन् । बेसहारा चन्द्रमायाले भरत र उनको भाइलाई दुःखजेलो गरेर पढाउँदै आएकी छन् । कमजोर आर्थिक अवस्थाका भरतलाई उच्च शिक्षा आर्जनको लागि आर्थिक संकट पर्ने देखिएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवन जिल्लाका १२ हजार २३३ विद्यार्थी सहभागी भएका छन् ।

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200